वैद्य र विप्लव अँध्यारोमा, किराती र आहुती आत्मकेन्द्रित

  हिमाल किराती  480 पटक हेरिएको

वर्तमान राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थिति र विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेको संकटको वीचबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वव्यापी एक आयामको रुपमा विकसित गर्ने उद्देश्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीवीचको छलफलको अन्तिम निष्कर्ष पश्चात पार्टी एकता सुनिश्चित भएको छ ।

त्यसैले अब हिजोका माओवादी धारका नेता वैद्य र विप्लवहरु प्रचण्ड नेतृत्वको वैज्ञानिक समाजवादी क्रान्तिको अन्तरराष्ट्रिय अभियानमा संलग्न हुन लाज मान्नुपर्दैन । अन्यथा निष्पट्ट अँध्यारो कुनामा बसेर कम्युनिष्ट क्रान्तिकारिताको उपदेश दिनुको कुनै गुञ्जायज हुने छैन ।

त्यसैगरी, फरक–फरक स्वरुपमा, लोकेन्द्र बिष्ट, गोपाल किराती र विश्वभक्त दुलाल (आहुती) लगायत माओवादी धारका नेताहरुले प्रचण्ड–केपी नेतृत्वको अन्तराष्ट्रिय कम्युनिष्ट अभियानलाई विश्वास नगरेर निकै संवेदनशील र आत्मकेन्द्रित भई पार्टी एकता प्रक्रियाबाट अलग भएको आम सञ्चारमार्फत घोषणा सुन्नमा आएको छ ।

यदि माथि उल्लेखित नेताहरुबा विषयमा सञ्चार माध्यममा आएको कुरा नै सही हो भने उहाँहरुको कदम एकदम गलत मात्र होइन, प्रत्युत्पादक छ । तसर्थ, लोकेन्द्र विष्ट, गोपाल किराती र आहुतीहरुले तुरुन्त आत्मकेन्द्रित र मनोगत निर्णयबाट हुने भयानक क्षतिलाई विषेश ध्यान दिएर उक्त निर्णयबाट पछि हट्न र गम्भीरतापूर्वक पुनर्विचार गर्न विषेश अनुरोध गर्दछु । र, प्रचण्ड नेतृत्वको पार्टी एकतामा सहभागी भई दक्षिण एशियाकै एक शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्ने ऐतिहासिक अभियानमा सामेल हुन यही लेखमार्फत अपील गर्छु ।

माओवादी केन्द्र र एमालेवीचको पार्टी एकता, राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति सन्तुलन र राष्ट्रिय राजनीतिक धु्रवीकरणको अपरिहार्यता तथा नेपाली कम्युनिष्ट आन्दोलनको वस्तुगत र आत्मगत परिस्थितिबाट निर्देशित दर्शनद्वारा भएको कुरा स्पष्ट हुनुपर्दछ ।

प्रचण्ड नेतृत्वको १० वर्षे जनयुद्धको जगमा १९ दिने जनआन्दोलन भयो । त्यसमा थप मधेस र आदिवासी–जनजाति आन्दोलनले देशमा परिवर्तन ल्यायो । सबै वर्ग, जाति, क्षेत्र र लिङ्गका नेपाली जनतालको सर्वाङ्गीण विकासको निम्ति, एकात्मक र केन्द्रीकृत राजतन्त्रात्मक राज्य व्यवस्थालाई अन्त्य गरिएको हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय सहितको समानुपातिक र समावेसी लोकतान्त्रिक राज्यव्यवस्था स्थापित गर्न लामो बलिदानीपूर्ण संघर्ष भएको कुरा इतिहासमा लिपिवद्ध भइसकेको छ ।

हाम्रो देश नेपाल, विविधतायुक्त मनोविज्ञानहरु रहेको नेपालीहरुको संगमस्थल हो । हाम्रो देश, भौगोलिक रुपमा जति अविछिन्न रहँदै आएको छ, विविध मनोविज्ञानलाई संकेन्द्रित गरी राष्ट्र र राष्ट्रियतालाई बराबरी हैसियतमा उठाएर ‘नयाँ राष्ट्रिय एकता’ भित्र साझा पहिचानयुक्त देश नेपाल निर्माण गर्ने कार्यभार अझै बाँकी नै रहेको कुरा स्पष्ट हुनु पर्दछ ।

एमाले र माओवादीवीचको विगतको ६ बुँदे सहमतिको पृष्ठभूमिमा भएको पछिल्लो ७ बुँदे सहमति, संविधान कार्यान्वयन र वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा अघि बढ्नका लागि भएको हो । यो एकता सही विचार र राजनीतिक कार्यदिशा निर्माण गर्न भिषण बैचारिक संघर्ष सञ्चालनको अनिवार्यतामाथि विशेष जोड गर्दै भएको छ ।

तसर्थ, बामपन्थीको तीनै तहमा बहुमतको सरकार, सामाजिक न्यायसहितको समानुपातिक–समावेशी लोकतन्त्रको पूर्णता, राष्ट्रिय (आत्मनिर्भर) अर्थतन्त्रको विकास र बैज्ञानिक समाजवादको स्थापना गर्ने मुख्य उद्देश्यमा अविचलित रहने कुराप्रति अहिले नै आशंका गर्नु वाञ्छनीय हुँदैन ।

रुसी र चिनियाँ क्रान्ति र प्रतिक्रान्ति पश्चात विश्वभर कम्युनिष्ट क्रान्तिकारीको पहलकदमीहरु अन्ततः दक्षिणपन्थी अवसरवादमा वा उग्रवामपन्थी अवसरवादमा पतन भएको छ । कतिपय मुलुकका कम्युनिष्ट क्रान्तिकारीलाई विश्व साम्राज्यवादी शक्तिद्वारा उठ्नै नसक्ने गरी दमन गरिएको घटनालाई हामीले बिर्सनु हुँदैन ।

छिमेकी भारतमा ‘भाकपा माओवादी’ न अघि बढ्न सक्छ, न नै पछि हट्न सक्छ । केवल क्रुर दमनबाट एकपछि अर्को गम्भीर क्षति व्यहोर्न विवश छन् । यसरी उत्पीडित राष्ट्र र वर्गमाथि बदलिएको विश्व साम्राज्यवादको शोषण र दमनका स्वरुपलाई सही विश्लेषण र संश्लेषण गरी ऐतिहासिक चुनवाङ बैठक हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको पृष्ठभूमिमा मूलभूत रुपमा हामी सबै कम्युनिष्टहरु उभिएका छौं ।

विचारधारात्मक राजनीतिक कार्यदिशा सही हुनु वा नहुनुले सबै कुराको निर्धारण गर्छ भन्ने माओको विश्वविख्यात वैज्ञानिक संश्लेषणलाई हामीले आत्मसाथ गर्नै पर्छ । देशी–विदेशी प्रतिक्रियावादी शक्ति लागेर माओवादी आन्दोलन क्षतविक्षत बनाउने कोसिस गरेकै हो । त्यसमा हामीभित्रबाट पनि उक्साहटमा परी पार्टी फुटको पक्षमा उभिन पछि नपरेको पनि स्पष्टै छ ।

अन्ततः प्रचण्डको नेतृत्वमै माओवादी धारहरुलाई मूलभूतरुपमा एकतावद्ध पारेर पछिल्लो माओवादी र एमालेवीच पार्टी एकता र भिषण विचारधारात्मक संघर्षबाटै सही राजनीतिक कार्यदिशा निर्माण गर्ने प्रष्ट कार्ययोजनासम्मको मुख्य भूमिकालाई हेर्दा वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यबाट प्रेरित भएको विषयप्रति मुख्यतः सबैको ध्यानाकर्षण हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार